नियम
सामुदायिक सहायता सेवा
: (१) पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई त्यस्ता व्यक्तिको आवश्यकता अनुसार देहाय बमोजिमका सामुदायिक सहायता सेवा उपलब्धताको आधारमा नि: शुल्क रुपमा उपलब्ध गराइनेछ :-
(क) व्यक्तिगत सहयोगी सेवा : पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत आवश्यकता अनुसारका सहयोगी सेवा,
(ख) दैनिक हेरचाह तथा स्याहार सेवा : पूर्ण अशक्त अपाङ्गता, श्रवण दृष्टिविहीन अपाङ्गता, बौद्धिक अपाङ्गता, अटीजम वा मनोसामाजिक अपाङ्गता भएका दैनिक रूपमा निरन्तर हेरचाह तथा सहयोग आवश्यक पर्ने अवस्थाका अपाङ्गता भएका व्यक्तिका लागि परिवारको कुनै सदस्य वा संरक्षक नभएको अवस्थामा सम्बन्धित स्थानीय तह मार्फत उपलब्ध हुने हेरचाह तथा स्याहारको सेवा र स्थानीय तहमा पुनर्स्थापना कार्यक्रम मार्फत उपलब्ध हुने आवश्यक आधारभूत थेरापी, पुनर्स्थापना, दैनिक जीवनयापन सीप, सामाजिकीकरण सीप लगायतका सेवा,
(ग) क्लिनिकल परामर्श तथा रेफरल सेवा : स्थानीय स्वास्थ्य संस्था मार्फत अपाङ्गता भएका व्यक्तिको लागि उपलब्ध हुने आवश्यक क्लिनिकल परामर्श सेवा तथा स्वास्थ्य उपचारसँग सम्बन्धित रेफरल सेवा,
(घ) सामान्य परामर्श तथा दौतरी परामर्श सेवा : नेपाल सरकार वा स्थानीय तह मार्फत स्थानीयस्तरमा सञ्चालित पुनर्स्थापना केन्द्र वा बिभिन्न व्यक्ति वा अपाङ्गता सम्बन्धी गैर सरकारी संस्थाबाट सञ्चालित पुनर्स्थापना केन्द्रहरू मार्फत उपलब्ध गराइने सामान्य परामर्श सेवा, दौतरी परामर्श सेवा, अभिभावक परामर्श सेवा जस्ता सेवा ।
(२) उपनियम (१) बमोजिमको सेवा प्रदान गर्नका लागि आवश्यक बजेट नेपाल सरकारले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउनेछ ।